शुक्रबार, चैत्र १६, २०८०

महाअभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च पुगेसंगै मुलुकको राजनैतिक वृतमा नयाँ तरंग

आफुविरुद्धको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै प्रन्या जवरा सर्वोच्च जाँदै

काठमाडौं मंसिर २१,

सङ्घीय संसद् सचिवालयको तर्फबाट प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी भएको जानकारीसहितको पत्र सर्वोच्च अदालतमा पुगेसंगै चौतर्फी  तरंग सिर्जना भएको छ।

संसद् सचिवालय महासचिव डा भरतराज गौतमद्वारा आज जारी पत्रमा प्रन्या जबरामाथिको महाअभियोग निष्प्रभावी भएको र नियमित कार्यसम्पादन गर्न दिनु भन्ने व्यहोरा उल्लेख भएको र उक्त सर्वोच्च अदालतमा पुगेसंगै उक्त पत्र कार्यान्वयन गरिने सर्वोच्च प्रशासनको तयारी रहेको थाहा भएको छ।

यसअघि आगामी मंसिर २७ बाट अनिवार्य अवकास हुन लागेका प्रधानन्यायाधीश जबराले मङ्गलबार आफुविरुद्धको महाअभियोग निष्प्रभावी भएको जानकारीका लागि सचिवालयमा निवेदन दिनुभएको थियो ।

जवराको निवेदनमा संविधानको धारा १०१ [२] बमोजिम तत्कालीन प्रतिनिधिसभामा पेस भएको महाअभियोग संसद्को कार्यकाल समाप्त भइसकेको हुनाले संविधानको प्रतिबन्धात्मक वाक्याङ्श बमोजिम निष्प्रभावी भएको र प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नको लागि सम्बन्धित निकायलाई जानकारी गराइदिनु हुन सादर अनुरोध गरिएको संसद सचिवालय स्रोतले जनाएको छ।

स्मरण रहोस, प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल भएको र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको थियो । तत्प्रश्चातको प्रक्रिया अगाडि नबढेसंगै महाअभियोग निष्प्रभावी हुनुको अलावा महाअभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको ठहर गरिएको हो ।

त्यस्तै  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने तयारी समेत गरेको थाहा भएको छ।