बिहिबार, चैत्र १५, २०८०

माओवादी पदाधिकारी बैठक: नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौं मंसिर १७,
नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारीको बैठकले नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने नितिगत निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा सहित नयाँ सरकार गठनको सवालमा मौजुदा सत्ता गठबन्धन संगैअन्य सबै विकल्प खुला राख्ने निर्णय बैठकले गरेको जानकारी दिनुभएको हो । त्यस्तै  उहँँले मौजुदा सत्ता गठबन्धन छाड्ने वा तोड्ने भन्ने विषयमा कुनै छलफल नभएको बताउनुभयो ।

सम्पन्न निर्वाचनमा नेकपा माओवादीले संघको प्रत्यक्षतर्फ १७ स्थानमा र प्रदेशसभा सदस्यको प्रत्यषतर्फ ५३ स्थानमा जित प्राप्त् गरेको छ। यसवीचमा दोलखामा भने मतगणना जारी रहेको र त्यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गङ्गा कार्की अग्रस्थानमा रहेको बताउनुभयो ।