शुक्रबार, चैत्र १६, २०८०

पुर्व प्रधानमन्त्री ओलीलाई महानगर प्रमुख साहले दियो यस्तो चेतावनी

काठमाडौं मंसिर ४,
काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई सुकुम्बासीहरुलाई कसैका विरुद्धमा प्रयोग गर्ने चेष्टा नगर्न चेतावनी दिएका छन् ।

ओलीले पार्टी मुख्यालयमा भएको कार्यक्रममा बोल्दै थापाथलीस्थित सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि टिप्पणी गरेपछि प्रमुख साहले सुकुम्बासीहरुलाई कसैका विरुद्धमा प्रयोग गर्ने चेष्टा नगर्न चेतावनी दिएको हो ।

प्रमुख  साहले सामाजिक संजालमार्फत  पूर्व प्रधानमन्त्री   केपी ओलीलाई सम्बोधन गर्दै अहिलेसम्म सुकुम्बासीका समस्या समाधान गर्न नसकेकोप्रति गम्भीर ध्यानाकर्षण सहित   सुकुम्बासीलाई विभिन्न प्रयोजन गर्न जानेको नेताले उनीहरुका समस्या समाधान गर्न नसकेको समेत जिकिर गरेका छन । 

साथै प्रमुख  साहले   ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन । उनले अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नु होला  भनेका छन्।

यसैवीच  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा सुकुम्बासी समस्या समाधानका नाममा शुरु गरिएको डोजर आतंक फैल्याउने काम गरिएको भन्दै राज्य सरकार र काठमाडौं महानगरपालिकाको कटु आलोचना गर्नुभएको थियो । त्यस्तै उहाँले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै उनीहरुलाई पराजित गर्ने तमासा देखाउन काम समेत बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।