शुक्रबार, बैशाख १४, २०८१

समानुपातिक प्रणालीतर्फ एमालेको अग्रता कायमै, १५ प्रतिशत मत मात्रै गन्न बाँकी

काठमाडौं मंसिर १२,
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको जनाउँदै आयोगले सम्पन्न निर्वाचनमा कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको जनाएको छ।

यसैवीच मतगणना भएको मत विवरण अनुसार समानुपातिक निर्वाचन मार्फत प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता कायमै रहेको छ । आज अपरान्ह तीन बजेसम्मको तथ्याङ्कअनुसार ९३ लाख १७ हजार ८१२ मतगणना गर्दा एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसको २४ लाख ७५६ प्राप्त गरेको आयोगले जनाएको छ ।

त्यस्तै माओवादी केन्द्रले १० लाख ६६ हजार ५१३ मत सहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६३ हजार ५१३ चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५४ हजार ६०९ मतसहित पाँचौं र जनता समाजवादी पार्टीको तीन लाख २९ हजार ८९० मत स्थान प्राप्त गरेको छ ।

त्यस्तै ३ प्रतिशतको थ्रेसहोल्ड काट्नका लागि जनमत पार्टीलगायतले मतगणनामा मतसङ्ख्या बढाउँदै लगेको छ। सो पार्टीले दुई लाख ६६ हजार एक सय मत प्राप्त गरेको छ । यस्तै, नेकपा एकीकृत समाजवादी ले दुई लाख ५३ हजार १४९ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार ९६१ मत पाएको आयोगले जनाएके छ भने लोसपा र हाम्रो नेपाली पार्टीले ५२ हजार ८४७ मत प्राप्त गरेको छ ।