बिहिबार, बैशाख १३, २०८१

डोटीमा भूकम्पका कारण घर भत्किँदा ६ जनाको मृत्यु , प्रम देउवाद्धारा दुःख व्यक्त

काठमाडौं कार्तिक २३,
गएराती २ बजेर १२ मिनेटमा डोटीलाई केन्द्रविन्दु बनाएर गएको ६।६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको  छ। प्रहरीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको हो।

घर भत्किएर ३० वर्षीय भगवतीदेवी बोहरा, उनका १३ वर्षीया छोरी सीता बोहरा, छोरा ७ वर्षीय हर्क बोहरा, ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र १६ वर्षीया धनसरी बोहराको मृत्यु भएको प्ररीले जनाएको छ। यसैगरी घाइते हुनेमा ४० वर्षीया इनाकीदेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीया चानादेवी बोहरा र ५० वर्षीय माद्धावीर बोहरा रहेको जनाएको छ ।

यसैवीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । “सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको छ ।