बुधबार, बैशाख १२, २०८१

चुनावी प्रचारको क्रममा गालीगलौज नगरी मत माग्न प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौ कार्तिक २० ,
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आसन्न् निर्वाचनको प्रचारप्रसारको क्रममा अरुलाइ गालीगलौज वा चरित्र हत्या गर्ने जस्ता काम कारवाही नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई आग्रह गर्नुभएको छ ।

आसन्न निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्रले आज काठमाडौँमा आयोजना गरेको नागरिक संवादमा उहाँले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर मत माग्ने र मत दिने वातावरण सिर्जना गर्न समेत आग्रह गर्नुभएकोछ ।

साथै उहाँले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताउँदै कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको समेत जानकारी दिनुभएको छ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त डा भोजराज पोखरेल, पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, संविधानविद् नीलाम्बर आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतसँग मंसिर ४को निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण्मा सम्पन्न् गराउन आवश्यक रहेको बताउनुभएको छ।