शुक्रबार, चैत्र १६, २०८०

बेष्ट इलेमेन्ट्रि मन्टेस्वरीको चरम लापरवाहीका कारण ११ वर्षिय उदियमान बालकको मृत्यु

 प्रहरीले घटनास्थलको मुचुल्का तयार नगर्दै घटनास्थलमा घाइतेको रगत पानी हालेर पखालेको पीडित पक्षको दाबी

काठमाडौ कार्तिक १८,
स्कुल व्यवस्थापनको चरम लापरबाहीका कारण काठमाडौंको लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्रि मन्टेस्वरी स्कुलका ११ वर्षिय विद्यार्थी आयुष्मान दाहालको बिहीबार निधन भएको छ ।

चितवनको रत्ननगर –१० स्थायी घर भइ राजधानीको सामाखुसी बस्ने दाहाल बेष्ट इलिमेन्ट्रि मन्टेश्वरी स्कुलको कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थी हुन् । बुधबार साँझ स्कुलबाट बा.१ क ४६४२ नम्बरको स्कुल बसमा घर फर्कने क्रममा गम्भीर घाइते भएका दाहालको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहान ३ः३० बजे मृत्यु भएको हो ।

घर फर्किने क्रममा गाडीको देर्बेपट्टी पछाडि सीटमा बसेका आयुष्मानले झ्यालबाट टाउको निकाल्दा रुखमा ठोकिएर घाइते भएको स्कुल व्यवस्थापनले दाबी गरे पनि पीडित परिवार त्यो मान्न तयार छैनन् । पहिला नै गाडी अगाडि पछाडि गर्दा बालकको झ्यालको रडमा टाउको ठोकिएको र टाउको फुटेर रक्तामे भएर बेहोस भएपछि झ्यालबाट टाउको बाहिर निस्किएको पीडित पक्षको दाबी छ ।

त्यस्तै घटनामा विद्यालय प्रशासनको कमजोरीसंगै सवारी चालकको हदैसम्मको लापरवाहीका कारण आयुष्मानको मृत्यु भएको भन्दै सवारी चालकमाथि पीडितहरुले मुलुकी अपराध सँहिता दफा ९३ अनुसार मुद्धा दर्ता गर्न प्रहरीसँग आग्रह गरेका छन् ।

त्यस्तै सोहि विद्यालयका विद्यार्थीहरुले पनि साघुरो बाटो छेकेर छेउमा रहेका रुख नजिकबाट सवारी चलाउने गर्दा दुर्घटना भएको बताएका छन । यसवीचमा स्कुलले आफ्ना विद्यार्थीको सुरक्षित विद्यालय यात्राको प्रत्याभुति गराउनु पर्ने हो । तर विद्यालयको चरम लापरवाहीका कारण आज एक उदियमान वालकले आफ्नो ज्यान गुमाउँनु परेको छ।

त्यस्तै रक्तामे अवस्थामा बेहोस बालक आयुष्मानको आधा शरीर लत्रिएर झ्याल बाहिर निस्केको र त्यसपछि उनलाई अस्पताल लगिएको घटनाको प्रत्यक्षदर्शीको भनाइसंगै गाडी धसारिएको रुखमुनि राताम्मे बगेको रगतमा पानी हालेर पखाल्नुले घटना शंकास्पद देखिएको र बिद्यालय व्यवस्थापनले चरम लापरबाही गर्दै गल्ती ढाकछोप गर्न पानी हालेर पखाल्नुको अलावा प्रहरीले घटनास्थलको मुचुल्का तयार नगर्दै घटनास्थलमा घाइतेको रगत पानी हालेर पखालेको पीडित पक्षको दाबी छ । साथै प्रस्तुत घटनामा स्कुल प्रशासनले मानवीयता नदेखाएको भन्दै उनीहरुथप आक्रोशित बनेका छन ।