मङ्लबार, बैशाख ११, २०८१

प्रत्यक्ष निर्वाचनतर्फ काठमाडौ सहित सात जिल्लाको मतपत्र छपाइ बाँकी :आयोग

काठमाडौं कार्तिक १६,
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत   पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको जनाएको छ।

साथै सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सकिएको जनाउँदै आयोगले निर्वाचन सामग्री ढुवानी भएका यी जिल्लामध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा पठाउने कार्यक्रम रहेको जानकारी दिएको छ।

त्यस्तै आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि ३ करोड १४ लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको र यसमध्ये गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान, रूकुम पश्चिम तथा रूकुम पूर्वका मतपत्र ढुवानीसमेत भइसकेको जनाएको छ ।