बिहिबार, बैशाख १३, २०८१

सञ्चारमाध्यमबाट पनि चुनावी प्रचारप्रसार गर्न पाइने , यस्तो छ मापदण्ड

काठमाडौ कात्तिक १५,
आसन्न आम निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू तथा उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको दायरामा रहेर विभिन्न सञ्चारमाध्यममा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । तर यसरी प्रचारप्रसार गर्दा जारीआचरणसहिताको मापदण्ड पालना गर्नु पर्ने जनाउ दिएको छ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले विगतका निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले जथाभाबी सञ्चारमाध्यमको उपयोग गरेको पाइएसंगै यसपटक त्यस्तो अवस्था सिर्जना नहोस भन्नका लागि मापदण्डको व्यवस्था सहितको निगरानी संगै प्रेस काउन्सिलले पनि त्यसको निगरानी राख्ने जानकारी दिनुभएको छ ।

साथै मापदण्डको पालना नगर्ने राजनीतिक दल वा उम्मेदवारलाइ तत्काल स्पष्टीकरण सोधिने जनाउ सहित आयोगले सार्वजनिक गरेको प्रचारप्रसार आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा ४ पटक र एक पटकमा बढीमा १ मिनेटसम्म प्रसारण गर्न पाउने जनाएकोछ ।

त्यस्तैगरि पत्रपत्रिकाको हकमा राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकामा सात र सात इन्चसम्मको आकारमा आफ्नो दलको चुनावी प्रचार गर्न पाउनेछन् । आमनिर्वाचनमा सहभागी हुने उम्मेदवारको हकमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले एक दिनमा चार पटकसम्म निजी रेडियो तथा टेलिभिजनमा एक मिनेटको प्रचार सामग्री प्रसारण गर्न पाउने जनाउदै त्यस्ता प्रसारण लगातार नगरी एक घण्टाको अन्तराल कायम हुनुपर्ने जनाएको छ । त्यस्तै प्रदेश सभाका उम्मेदवारले दिनको तीन पटकसम्म एक मिनेटको प्रचार सामग्री प्रकाशन, प्रसारण गर्न पाउनेछ भने उम्मेदवारको हकमा निजी पत्रपत्रिकामा चुनावी प्रचारप्रसारमा भने बन्देज लगाइएको छ । त्यस्तै दुष्प्रचारसहित मत माग्न पाइन्न, दुष्प्रचारमा अन्य व्यक्तिले सेयर, लाइक तथा कमेन्ट गर्न नपाइने व्यवस्था गरिएको छ ।  चुनावमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि विदेशी सञ्चारमाध्यम र सरकारी सञ्चारमाध्मबाट भने कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न नपाइने आयोगको भनाइ रहेको छ।