बिहिबार, बैशाख १३, २०८१

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले बनायो उम्मेदवार चयनको मापदण्ड

 काठमाडौं असोज १७,
नेपाली कांग्रेसले आसन्न् संघ र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ। सोमबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार चयनको मापदण्ड बनाएको हो।

कार्यसम्पादन समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएका प्रस्ताव पारित गर्दै उम्मेदवार चयनको मापदण्ड बनाएको हो। तय भएको मापदण्ड अनुरुप उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार नबनाउने भएको छ।
साथै स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन समेत अपील गर्दै आसन्न निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि निरुपण गर्ने निर्णय समेत गरेको छ।

त्यस्ते बैठकले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रुपले एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित गर्ने निर्णयसंगै निर्वाचन आयोगमा असोज ३ गते बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा केही हेरफेर गर्ने निर्णय संगै विजया दशमीको शुभकामना व्यक्त गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्नेछ।