शुक्रबार, चैत्र १६, २०८०

आज आ-आफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै

फाइलफोटो

काठमाडौं असोज १६,
आज वडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरुले आआफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । त्यस्तै फुलपातीको दिन आज देशभरका शक्तिपिठमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

त्यस्तै नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको तन्त्र विधिवाट गरिने कालरात्री पुजन समेत हुनेभएको छ । कालरात्री पुजनको विशेष महत्व रहेका पाइन्छ । कालरात्रीको पूजा उपासना गर्ने विधि आफैमा गुप्त र फरक-फरक छन् । आजका दिन शक्ति स्वरुपा देवी दुर्गाले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको स्मरणमा कालरात्री पुजनका दिन बली पूजा समेत गर्ने गरिन्छ ।

त्यस्तै दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ ।

यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती बढाइँका साथ हनुमानढोका भित्र्याइन्छ ।

घटस्थापनाका दिनदेखि दसैं सुरु हुने भएपनि दसैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम सुरु हुन्छ ।