मङ्लबार, चैत्र ६, २०८०

गोठाटार गोलीकाण्ड : गार्मेन्ट व्यवसायी लाल मोहम्मद हत्या प्रकरणका सहयोगीत्रय पक्राउ

 काठमाडौं असोज १४ ,
प्रहरीले दुई साताअघि गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन मार्फत घटनामा संलग्न रही फरार रहेका हत्याका सहयोगीत्रयलाइ पक्राउ गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरका सुमी भन्ने सुस्मिता स्याङताङ रहेका छन् । महोरम मियाँ र रेहान मियाँ घटनाको योजनाकार तथा हतियार ब्यवस्थापन तथा सुस्मिता स्याङताङले मृतकको गतिविधिको निगरानी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

साथै घटनाको सम्बन्धमा पक्राउ परेका अभियुक्त उपर ‘मुलुकी अपराध [संहिता] ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको जनाउँदै घटनाका मुख्य सुटर भने अझै फेला नपरको र पक्राउ परेका अभियुक्त त्रयमार्फत मुख्य योजनाकारसम्म पुग्ने गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।