शुक्रबार, चैत्र १६, २०८०

सिटामोलको अभाव हुनु किमार्थ तर्कसंगत मान्न सकिन्न : मन्त्री खापुङ

काठमाडौं असोज १३,
स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मुलुकको सकारात्मक रुपान्तरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली औषधि उद्योगको विकासका लागि नेपाल सरकार पूर्णत प्रतिवद्ध रहेको बताउँनुभएको छ ।बुधवार राजधानीमा आयोजित नेपाल औषधि उत्पादक संघको २८औं साधारण सभालाइ सम्बोधन गर्ने क्रममा मन्त्री खापुङले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

साथै सम्बोधनकै क्रममा उहाँले पछिल्लो समय नेपाली औषधि उद्यमीहरुले ४५ प्रतिशत औषधिमा नेपाल आत्मानिर्भर भएको दावीसंगै आत्मानिर्भर भएको औषधिको आयातमा रोक लगाउनु पर्ने जिकिर आफैमा विरोधाभाषपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै मुलुकमा जव जव विभिन्न रोगकोको प्रकोप फैलिन्छ , तव-तव आत्मानिर्भर भएको र यहाँनै उत्पादन हुने सिटामोलको अभाव हुनु तर्क संगत नभएको भन्दै पछिल्लो समय डेंगुको प्रकोप फैलिदै गर्दा अत्यावश्यक औषधिको मूल्य २०६४ यता समायोजन नभएको वहानामा सिटामोलको मूल्य वृद्धिको प्रसंग उठान हुँनु आफैमा सकारात्मक पक्ष नभएको जिकिर सहित सिटामोलको अभाव हुने नदिन उद्योगीहरुलाइ आग्रह गर्नुभयो ।

त्यस्तै स्वास्थ्य सचिव डा.रोसन पोखरेलले औषधिको मूल्य समायोजनको विषय आफैमा पेचिलो भएको जिकिर सहित व्युरोक्र्याट, पोलिसिमेकर र औषधि उद्यमीवीचको साझा धारणा सहित नितिगत निर्णय गर्न सकिने बताउनुभयो ।

संघका अध्यक्ष प्रज्वलजंग पाण्डेको सभापतित्वमा सम्पन्न साधारण सभामा औषधि व्यवस्था विभागका महानिर्देशक,राष्ट्रिय प्रयोगशालाका निर्देशक पान वहादुर क्षत्री संगै संघका महासचिव विप्लव अधिकारी , कार्डियोथोरासिक सर्जन डा। भगवान कोइराला, संघका पूर्व अध्यक्षहरुको तर्फबाट औषधि उद्यमी उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष लगायत औषधि सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले संघको साधारण सभाको सफलताको कामना सहित मुलुकमा नेपाली औषधि उद्यमीहरुको तर्फबाट भएका कार्य सम्पादन संगै पछिल्लो समय देखिएको समस्या त्यसको निवारणको पक्षमा आ-आफ्नो अभिमत प्रस्तुत भएको थियो ।