शुक्रबार, चैत्र १६, २०८०

नागरिकता विधेयक प्रमाणीकरण प्रकरणको सुनवाइ आइतबार हुने

काठमाडौं असोज ७,
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च अदालतमा दायर अलग-अलग पाँच वटा रिटको सम्बन्धमा परेको रिटको पेसी आइतबारलाई सरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई प्रमाणीकरणको माग गर्दै रिट दायर गरिएको हो ।

दायर रिटमा प्रतिनिधि सभा र राष्ट्रिय सभाले दोस्रो पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रपतिले संविधानको मर्म विपरित संविधानको उल्लङ्घन गरेको जिकिर सहित दर्ता भएके उक्त रिट निवेदनको पेसी आज न्यायधीश डा मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि आज तोकिएको पेसी समय अभावका कारणले हेर्न नभ्याइएपछि आइतबारलाई सारिएको सर्वोच्च प्रशासनले जनाएको छ।

स्मरण रहोस, संविधानको धारा ११३ को उपधारा ४ मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै दायर रिटमा रिट निवेदकहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधान विपरीत हुने भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न परमादेशसमेत उपयुक्त आदेश जारी गर्न माग गरेका छन्।