शुक्रबार, चैत्र १६, २०८०

इन्द्रध्वज उठाइएसंगै राजधानीमा राष्ट्रिय पर्व इन्द्रजात्रा शुरु

काठमाडौं भाद्र २२,
राजधानीमा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्राको सुभारम्भ स्वरुप हनुमानढोका दरवारस्थित कालभैरव मन्दिर परिसरमा आज बिहान ७:१७ बजेको शुभसाइतमा इन्द्रध्वज उठाईएको छ । इन्द्रध्वज उठाइएसंगै राष्ट्रिय पर्व इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ । इन्द्रध्वजा फराइएपछि राजधानीमा इन्द्रजात्रा सात दिनसम्म मनाउँने गरिन्छ । इन्द्रध्वजा फहराउँने क्रममा गुर्जुको पल्टनले विशेष बाजागाजाका साथ तोप  सलामी दिएको थियो।

त्यसैगरी यसअघि स्थानीय तलेजु भवानी मन्दिरमा राखिएको भवानीको प्रतीकका रुपमा सेतो घोडालाई ल्याएर पूजा गरिएको थियो। करिब ३२ हातको सो लिङ्गो भक्तपुरको चितपोलस्थित जङ्गलबाट हनुमानढोकामा पुर्‍याइएको थियो। इन्द्रजात्रामा गणेश, भैरव र श्रीकुमारीको रथयात्रा गर्ने चलन छ।

सोही अवधिमा राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा उच्चपदस्थ अधिकारीबाट श्रीकुमारीको दर्शन गरिन्छ। यसैबीच हनुमानढोकास्थित श्वेतभैरव सर्वसाधारणको दर्शनका लागि आजदेखि एक सातासम्म खुला गरिएको छ। यः सिं अर्थात इन्द्रध्वज का गुठियार मानन्धर समूह र नेपाली सेनाको टोलीले गत आइतबार भोटाहिटीदेखि इन्द्रध्वज तानेर हनुमानढोकासम्म ल्याएको थियो ।

यसैवीच भक्तपुरमा पनि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको र यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ ।