शुक्रबार, बैशाख १४, २०८१

स्रोत नखुलेको ६९ लाख रकमसहित तीनजना हुण्डी कारोवारी पक्राउ

 काठमाडौं भाद्र २,
नेपाल प्रहरीको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीको विभिन्न् स्थानबाट स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
यसरी स्रोत नखुलेको रकमसहित पक्राउ परेका ३ जनामा क्रमस काठमाडौ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौको टेकु बस्ने ३३ वर्षीय अङ्कित गोयन्का रहेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्त त्रयले गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको जानकारी प्राप्त भएसंगै आवश्यक अनुसन्धानको क्रममा उनीहरुलाई राजधानीको बागबजारस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम सहित पक्राउ गरिएको जानकारी दिएको छ।

त्यस्तै प्रहरीले प्रहरीले पक्राउ परेका मध्ये अङ्कित गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेशनलको कार्यालयबाट थप रु नौ लाख समेत र फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको सानिमा बैंकको रु १५ लाख बराबरको चेकसमेत बरामद गरेको जनाउँदै पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको जनाएको छ ।