बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद् बैठक:  सरकारले विश्व बैंकको १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

काठमाडौ साउन २९,
सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड [अमेरिकी डलर १०० मिलियन] सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको साउन २६ गते बसेको बैठकमार्फत विभिन्न मन्त्रालयको प्रस्तावमा भएका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब रु दुई अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

यसैगरी बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने निर्णयसंगै नसीम राईनको प्रमाणपत्र नं १५–०१–७१–०५७४० विसं २०७१ मङ्सिर ७ गते जारी भएको वंशजको नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकको सूचीबाट बाट हटाउने निर्णय गरेको छ

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७९/८० का लागि राजपत्राङ्कित श्रेणीका ५१ पदको अस्थायी दरबन्दी स्वीकृती संगै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत राजपत्राङ्कित श्रेणीका ५८ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। साथै कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका २० पदको अस्थायी दरबन्दी स्वीकृतसंगै सप्तकोसी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका तीनसय ५५ पदको अस्थायी दरबन्दी स्वीकृत युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका १५ पदको अस्थायी दरबन्दी स्वीकृत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका २३ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारीदिनुभयो ।