शनिबार, बैशाख ८, २०८१

दिवङ्गत आत्माको स्मृतिमा उपत्यका लगायतका शहरमा गाइजात्रा पर्व मनाइँदै

काठमाडौं साउन २८,
आज मृतआत्माको चिरशान्ति एवम् स्वर्ग प्राप्तिको कामना सहित गाईजात्रा पर्व मनाइदैछ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाका दिन मनाईने गाईजात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाइँने गरिन्छ । यो पर्वमा विशेषत एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन ।

यसअघि शुक्रवार पनि कहिकतै तिथी टुटका कारण गाइजात्रा पर्व मनाइएको थियो । मुलत यो पर्व जनै पूर्णिमाको भोलीपल्ट अर्थात साउन शुक्ल प्रतिपदाका दिन मनाईने पर्व भएकै कारण आज अधिकांश व्यक्तिले पर्व मनाइरहेका छन ।

गाइजात्राको सम्बन्धमा प्रचलित इतिहास अनुसार तत्कालीन मल्ल राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने

जनविश्वास रहनुको अलावा त्यस वेला देखिनै यो पर्वले निरन्तरता पाएको अभिमत पाइन्छ । त्यस्तै रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट गाई भेषधारी लैजान सुरु गरिएकाले अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै गाईजात्रा सुरु गरिने चलन छ । कतिपयले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

तर आज भोली प्रस्तुत पर्वलाइ समाजमा विद्यमान विकृति र विसङ्गति उजागरको माध्यमका रुपमा पनि मनाउँन थालिएको पाइन्छ । यस क्रममा सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।