बुधबार, बैशाख १२, २०८१

काठमाडौँको पर्यटन पुनरुत्थानका लागि उपत्यकाका स्थानीय तहहरुको सामूहिक प्रतिवद्धता आवश्यक : मन्त्री श्रेष्ठ

पर्यटन पूर्वाधार निर्माण   सँगै सिटी ब्राण्डिङ्मा काम गर्नुपर्छ : प्रमुख शाह

काठमाडौ साउन २२,
पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको पर्यटन पुनरुत्थानका लागि उपत्यकाका स्थानीय तहहरुको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभएकोछ । मन्त्री श्रेष्ठले आज उपत्यकाका नगर प्रमुखहरुसँगको छलफलको क्रममा प्रस्तुत धारणा राख्दै मन्त्रालयले काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना बनाएको जानकारी सहित यसको लागि सहकार्यलाई पहिलो शर्तका रुपमा अघि सार्नुभएको छ ।

त्यस्तै उहाँले आफ्नो कार्यकालमा मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भु स्तुप र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने लगायतका योजना कार्यान्वयनमा ल्याउँने तयारी गरेको जानकारी दिनुभएको छ ।

साथै छलफलका क्रममा पर्यटन आगमन बिन्दुहरुमा शौचालय तथा विश्राम कक्ष निर्माण गर्ने, विमानस्थलदेखि उपत्यकामा मुख्य स्थानहरुमा विद्युतीय बस सञ्चालन गर्ने, उपत्यकाभित्रका मुख्य ऐतिहासिक सम्पदाहरु घुम्ने पर्यटकको सुविधाका लागि एकद्वार प्रणालीबाट प्रवेश अनुमति दिने, पर्यटक बसपार्क निर्माण गर्नेलगायत बिषय उठान भएको थियो ।

त्यस्तै छलफलमा भाग लिँदै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले पर्यटन व्यवस्थापनमा एकीकृत योजना र सरोकारवालाविचको समन्वयमा समस्या देखिएको बताउँदै, ‘सिटी व्राण्डिङ् गरेपछि मात्र पर्यटकहरुको संख्या बढ्ने बताउनुभयो ।

त्यस्तै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहित नगरपालिकाका प्रमुखहरुले, फोहोरमैला व्यवस्थापन, सहरी सेवा तथा सुविधा वितरणका पूर्वाधारमा एकीकृत योजना हुनु पर्नेमा जोड दिदै सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक स्थानहरु जोड्ने पदमार्ग निर्माण, साइक्लिङ् र अन्य पर्यटन पुर्वाधार निर्माणमा सहकार्य हुन सक्ने नगर प्रमुखहरुको धारणा थियो । उहाँहरुले सम्पदा र पर्यटकीय दृष्टिकोणले आफ्नो नगरपालिका क्षेत्रमा भएका सम्भावनाका विषयमा जानकारीदिनभएको थियो ।

छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिका प्रमुख चीरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतसहित नगर प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।