शुक्रबार, चैत्र १६, २०८०

सप्तकोशीको बढ्दो बहाव : दुई हजार चार सय घरधुरी प्रभावित ,उद्धार र राहतमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं साउन १८,
गृहमन्त्रालयले अविरल वर्षासंगै सप्तकोशीको पानीको बहाव बढेसंगै नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको जनाएको छ।  त्यस्तै मन्त्रालयले सप्तकोशीको बढ्दो बहावले उदयपुरको बेलका नगरपालिका १, २, ८ र ९ मा करिब ५० मिटरजति जमिन कटान गरिसकेको अवस्थालाइ दृष्टिगत गर्दै त्यहाँका नागरिकलाई स्थानान्तरण गर्दै तत्काल , राहत र उद्धारको व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको जानकारीदिएको छ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी , प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने आकंल सहित पिडितका लागि आवश्यक सुरक्षा सहितको व्यवस्थापन मिलाउँन सवै सुरक्षा निकाय सक्रिय रुपमा लागेको मन्त्रालयले जनाएको छ।