शुक्रबार, चैत्र १६, २०८०

सरकारी कार्यालयका टेबल र टेबलका शासन बन्द गर्न मन्त्री र सचिवलाई प्रम देउवाको कडा निर्देशन

काठमाडौं साउन १७ ,
प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको सयुक्त बैठकलाइ सम्बोधन गर्दै जनतालाईदिने सेवामा कुनै सम्झौता  नगर्न निर्देशन दिनुभएको छ । सम्बोधनको क्रममा प्रम देउवाले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द निर्देशन दिदै कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारीसाधन सुविधा र इन्धन नदिन समेत निर्देशन दिनुभएको छ ।

साथै उहाँले आफु नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको स्मरण गर्दै अवको केहि समयपछिनै मुलुक प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा होमिदै गरेको जनाउ सहित निष्पक्ष निर्वाचन सम्पन्न गर्ने कामलाई उच्च प्राथमिकतामा राखीअघि बढ्न सबैसँग अनुरोध समेत गर्नुभएको छ ।

साथै उहाँले कोभिड–१९ महामारीको सङ्क्रमणको जोखिम पुनः बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणको लागि आवश्यक सम्पूर्ण कदम चाल्न निर्देशन दिनुको साथै बढ्दो बजार मूल्यको नियन्त्रणका लागि आवश्यक रणनिति तय गर्दै जनतालाइ राहत पुग्ने सवैकिसिमका कार्ययोजना कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।

त्यस्तै उहाँले बढ्दो उच्च व्यापार घाटाको एउटा प्रमुख कारण रहेको पेट्रोलियम पदार्थको आयात क्रमशः न्यूनीकरण गर्दै विद्युत् खपतलाई बढाउनको लागि ठोस कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिदै शान्ति, सुरक्षाको स्थितिलाई थप सुदृढ बनाइ मुलुकमा सुशासन कायम गर्न सबै प्रकारका हिंसा र अपराधलाई कडाइका साथ नियन्त्रण गरी कानूनी राज्यको अवधारणालाई व्यवहारमा उतार्न सबै कटिबद्ध हुन जरूरी रहेको बताउनुभयो ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यको सबै तह र संरचनामा कडाइका साथ कार्यान्वयन गर्न उहाँले निर्देशन दिदै किसानलाई मल र बीउ तथा विद्यालयका छात्रछात्राहरूलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन र राज्यले निःशुल्क रूपमा उपलब्ध गराउने भनी घोषणा गरिएका औषधि गुणस्तरीय रूपमा समयमै र सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाउन समेत निर्देशन दिनभयो