मङ्लबार, बैशाख ४, २०८१

गीतकार अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान

भक्तपुर साउन ८,
भक्तपुरका नेपाली सुगम आधुनिक संगीतका एक अमर गायक तथा संगीतकार अरुण थापाको २३ औं स्मृति दिवसको अवसरमा भक्तपुर सांगीतिक समाजले आयोजना गरेको ‘पाँचौं अरुण थापा साँझ’मार्फत भक्तपुरका गायक, गायिका एवम् संगीतकारहरुले स्व. थापालाई सम्झिएका छन ।

स्मृति साँझमा स्व थापाका देश प्रेमको भावनाले ओतप्रोत ‘करोडौं मुटुहरूको एउटै ढुकढुकी नेपाल’ बोलको गीतबाट शुरु भएको कार्यक्रमममा भक्तपुरका स्थानीय कलाकारहरु सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, अधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व थापाको स्वरमा रहेको ‘लाग्न थाल्यो जीवनमा’, ‘आँखाको निद चोरी लाने’, ‘भुलेका कथा तिता मिठा’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो व्यथा के हो’, ‘जतिमाया लाए पनि’, ‘पग्लेर जाने हिउँ म हैन’ ‘म रोए पनि तिमी हाँसिदिनु’ लगायतका गीत प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै त्यस समाजले कवि तथा गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ ले सम्मान र ‘सा रे ग म प लिटिल च्याम्प’मा राम्रो प्रतिभा देखाएका भक्तपुरका बाल प्रतिभा अबिज्ञा घिमिरेलाइ समेत सम्मानीत गरिएको थियो

कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ संगीतकार दीपक जङ्गमले नेपालमा मरे पछि सम्मान दिने र खोजी खोजी कलाकारका कृतिप्रती चासो बढाउने गलत परम्परा रहेको बताउादै नेपालमा जनता र सरकारबाट अझ पनि कलाकारको सही पहिचान गर्न नसकेको गुनासो समेत पोख्नुभयो ।

 त्यस्तै समाजका अध्यक्ष प्रविण शाहीले मल्ल राजा जगतज्योती मल्लकोपाला देखिको गीत संगीत र साहित्यको ईतिहास बोकेको भक्तपुरको माटोमा नगेन्द्र हाडा, बुद्धि कृष्ण लामिछाने, सुन्दर श्रेष्ठ, रोशन कुमार राजभण्डारी, दीपक जंगम मात्र होईन अझ थप नयाँ प्रतिभा जन्माउदै आएको बताउनुभयो । उहाँले राम्रा प्रतिभालाई अघि ल्याउने कार्यमा समाजले अभियानको रुपमा अघि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मी वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल लगायतले स्व थापाका जीवनका विविध पाटाहरु र गीत संगीतसंग सम्बन्धित घटनाहरुबारे चर्चा गर्नुभएको थियो ।