बुधबार, बैशाख १२, २०८१

आज साउन महिनाको पहिलो सोमबार, भगवान शिवको विषेश पूजा अर्चना हुँदै

महामृत्युञ्जय मन्त्र : ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् |उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् || अर्थात हामी त्रिनेत्र देवलाई पुज्दछौँजो सुगन्धित छन्, हाम्रो पोषण गर्छन्,
जुन रूपमा फल, हाँगाको बन्धनबाट मुक्त हुन्छ,सोही रूपमा हामी पनि मृत्यु र नश्वरता बाट मुक्त हुन सकौँ ।

काठमाडौं साउन २ ,
नेपाल मन्दिरै मन्दिरको देश हो। त्यसमाथि राजधानी काठमाडौंका मन्दिरको संख्या गनिसाध्य छैन। यहाँका प्रत्येक टोल र घुम्तीपिच्छे सानाठूला मन्दिर छन्, जुन नेपालका सांस्कृतिक सम्पदा एवम् पर्यटन गन्तव्य पनि । त्यस्तै वर्षका १२ महिनामा फरक – फरक महिना फरक(फरक देवदेवीको पूजा अर्चना हुने गर्दछ यहाँ ।

यसैक्रममा धार्मिक मान्यता अनुसार साउन महिना भगवान् शिवलाई मनपर्ने महिना हो । श्रावण महिनामा भगवान शिवलाई श्रद्धापूर्वक पूज्ने गरिन्छ । साउन महिनामा यहाँका प्रत्येक महादेवका मन्दिरहरूमा महिना दिन जस्तो मेला नै लाग्ने गर्दछ । त्यस्तै भगवान महादेवको प्रिय महिना साउन भएजस्तै महादेवलाई मान्ने बार सोमबार भएकाले श्रावण महिनाको सोमवारका दिन त झन महादेवलाई अति श्रद्धाभाव राखेर भक्तजनले पूजा आराधना गर्दछन् ।

मुलत आफ्नो मनोकामना पूरा होस भन्दै श्रद्धापूर्वक श्रद्धालु भक्तजनले साउने सोमबारका दिन महादेवको व्रत बसेर आ–आफ्ना टोल, छिमेक क्षेत्रमा भएका महादेवको पूजा गर्नुको अलावा रातो सारी लगाएर र हरियो चुरामा सजिएका महिला समूह महादेवको मन्दिरमा जादै गर्दाको दृष्यमात्र पनि आफैमा मनमोहक हुँने गर्दछन । स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

साउने सोमवारको दिन मेला लाग्ने पशुपति महादेव, दुम्जाको कुशेश्वर महादेव, कविलासको कपिलेश्वर महोदव र नृत्येश्वर, पाटनका कुम्भेश्वर महादेव, गोकर्णको गोकर्णेश्वर महादेव, भक्तपुरका डोलेश्वर महादेव र दत्तात्रेय, काठमाडौंको कुलेश्वर महादेव लगायतका मन्दिरहरूमा भव्य र सव्य मेलाक लाग्नुको अलावा सोमबारका दिन भक्तजनको घुइचो पनि त्यतिकै हुने गर्दछ ।

त्यस्तै साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । भगवान शिवको अति प्रिय महिना साउन र साउने सोमवारका दिन हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दै साउने सोमवारका दिन शिवलाइ बेलपत्र र जल चढाउँदै पूजा आराधना गर्दा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

यसैक्रममा आ-आफ्नै विशेषता वोकको यि महादेव मन्दिरको मध्ये काठमाडौं महानगर वडा न १९ मरुहिटीस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन सोमवारका दिन पूजा अर्चना र दर्शन सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्त हुने, सन्तान भइसकेको भए उनीहरुको भविष्य उज्व्वल हुने, सुयोग्य जीवनसाथी प्राप्त हुने लगायतका मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने जनविश्वास रहेको छ ।

जस्तो नाम उस्तैै काम भने जस्तै यस सन्तानेश्वर मन्दिरमा भक्तिभावले लीन भई एकाग्र चित्त गरी पुजा आराधना, रुद्रि, अभिषेक गर्दा आफुले चिताएको कुरा पुगेको, मागेको फल प्राप्ति भएको थुप्रै उदाहरण रहेको मन्दिरका पूजारीहरु बताउँछन । त्यस्तै भक्तजनहरु पनि यहि विस्वासका कारण यस मन्दिरमा दिनहुँ दर्शको लागि आउँने गरेको हामी सहजै देख्न सक्छौं ।