शुक्रबार, बैशाख १४, २०८१

प्रशासकीय अधिकृत सेढाईविरुद्ध १ करोड ६६ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं असार १०,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध १ करोड ६६ लाख रुपियाँको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आज जारी गर्नु भएको विज्ञप्तिमा खोलाजन्य सामाग्री उत्खननको लागि ओम सप्लायर्सलाई दिएको ठेक्कामा सो सप्लायर्सले महानगरपालिकाका कर्मचारीले ठेकेदारसँग अवाञ्छित मिलेमतोमा ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी तरिकाले उत्खनन् गर्दै आर्थिक चलखेलमा राज्यको स्रोत साधनको दोहन गरेको भन्ने उजुरीको अनुसन्धानको क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईले ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा नलिई सम्झौता गर्नुको अलावा ठेकेदारको तर्फबाट कबोल बमोजिम अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार ५१० रुपियाँ दाखिला नहुनुको अलावा थप विभिन्न आर्थिक चलखेल पुष्टि भएको उल्लेख छ।

त्यस्तै अनुसन्धानकोक्रममा सम्झौता रकमको मूल्य अभिवृद्धि कर ३८ लाख ९९ हजार ९९९ रकमसहित सो खोलामा १ करोड ३८ लाख ९९ हजार ९९८ रुपियाँ पसाह खोला सम्झौतामा भ्रष्टाचार भएको आयोगले जनाएको छ।