बिहिबार, बैशाख १३, २०८१

प्राधिकरण र वायुसेवा सञ्चालक संघवीच सहमति ,आन्तरिक उडान नियमित

काठमाडौं, असार ८,
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढिकरणका लागि भन्दै विमान कम्पनीहरूले एओसी’ लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्ने निर्णय गरेसंगै आन्दोलित वायुसेवा सञ्चालक संघ र प्राधिकरणवीच सहमति भएको छ।

यसअघि प्राधिकरणको निर्णय संगै आजबाट देशभरका आन्तरिक उडान बन्द गर्ने चेतावनी सहित संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । त्यस्तै संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेसंगै प्राधिकरणले एयरलाइन्सको चेतावनी स्वीकार्य नहुने स्पष्ट पार्दै मंगलवार आयोजित पत्रकार सम्मेलन मार्फत विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढिकरणका लागि निर्णय लिन बाध्य भएको जनाउँदै उडान नरोक्न आग्रह गरेको थियो ।

त्यस लगत्तै प्रधानमन्त्री कार्यालयको पहलमा गृह मन्त्रालय, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च पदाधिकारी र सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतको वायुसेवा सञ्चालकहरूको टोलीबीच गएराति भएको वार्ताको क्रममा भएको सहमति संगै आज आन्तरिक उडान नियमित सञ्चालन हुने भएको हो ।

त्यस्तै आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहानैदेखि नियमित उडान भइरहेको जानकारी दिनुभएको हो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले आन्तरिक उडान नियमित सञ्चालन गर्ने र वार्तालाई पनि निरन्तरता दिने सहमति भएको जानकारी दिदै यसको पछिल्लो कडि अनुरुप दुवै पक्षबीच आज मध्याह्न १२ बजे प्राधिकरणको केन्द्रीय कार्यालयमा थप विषयमा छलफल हुने भएको छ।