मङ्लबार, बैशाख ११, २०८१

नेपाली सेनाले भन्यो- एसपीपी सम्बन्धी सम्झौता वा समझदारी भएको छैन

काठमाडौं असार १,
नेपाली सेनाले अमेरिकी सेनासँग रणनीतिक साझेदारी कार्यक्रम अर्थात एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको जनाउँदै यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा आएके समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयले आज साँझ २ बुँदे विज्ञप्ति जारी गर्दै नेपाली सेनाले एसपिपि सम्झौता सम्बन्धी धारणा सार्वजनिक गरेको हो ।

त्यस्तै नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवम् सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ  भनिएको छ ।