बुधबार, बैशाख १२, २०८१

विमान दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो

 काठमाडौं जेठ १७ ,
प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ मा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ ।  विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये १० जनाको शव हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शव अनज नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारिले जानकारीदिएको हो ।

त्यस्तै काठमाडौं ल्याएका शवहरु त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यसैवीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नै विमान दुर्घटनाको छानबिन गर्न वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।

स्मरण रहोस  पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

जहाजमा चालक दलका तीनजना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सब पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तमाङ, राममाया तमाङ, सुकमाया तमाङ, तुलसादेबी तमाङ रहनुभएको थियो । यस्तै जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, रितिका त्रिपाठी र जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।