बिहिबार, चैत्र १५, २०८०

सुरक्षा समितिको बैठक : निर्वाचन सुरक्षा व्यवस्थापनकोे समीक्षा

स्थानीय तह निर्वाचनका क्रममा खटिएका ५ म्यादी र एक प्रहरीको मृत्यु

काठमाडौ जेठ ६,
देशैभरका ७५३ स्थानीय तहमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा अपनाइएका सुरक्षा व्यवस्थापनबारे समीक्षा सहित आगामी निर्वाचनको लागि नयाँ सुरक्षा व्यवस्थापनको विषयगत एजेन्दामा छलफल गरिएको छ।

विहिवार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा देशैभर एकै चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे समीक्षा गरिएको हो ।

त्यस्तै निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र राष्ट्रसेवक कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै बैठकले मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाका परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ ।

स्मरण रहोस मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही रु २० लाख दिने र घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । यसवीचमा स्थानीय तह निर्वाचनका क्रममा खटिएका पाँच म्यादी प्रहरी र एक प्रहरीको मृत्यु भएको थियो ।

साथै बैठकले निर्वाचन गराउने सिलसिलामा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै परिवारमा समवेदना समेत व्यक्त गरेका छन ।