बुधबार, बैशाख १२, २०८१

१३० पालिकाको मतपरिणाम सार्वजनिक :आयोग

काठमाडौं जेठ २ ,
शुक्रवार सम्पन्न देशैभरका ७५३ स्थानीयतहकालागि भएको निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै यसवीचमा विविध कारण अवरुद्ध भएका २९ र उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई स्थानीय तह र गोरखाको चुम्नुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

साथै आयोगले आज अपराह्न ३ः३० बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष दुई हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७ गरी कूल १३ हजार ५८२ जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको जानकारीदिएकाछन ।

त्यस्तै गत बैशाख ३० गते विवादका कारण स्थगन भएको धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ को भगवती मावि, बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान भएको जनाएको छ ।

त्यस्तै स्थगन भएकामध्ये जेठ ३ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं। १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं १० को विजय मावि मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको वडा नं ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नं ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुने छ भने जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नं। ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुने आयोगले जनाएकोछ ।