शनिबार, बैशाख ८, २०८१

आफै मत संकेत गर्न नसक्ने मतदाताको यसरी गर्न पाइन्छ मतदान

काठमाडौं बैशाख २५ ,
निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनमा आफैं मत हाल्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यलाई मत हाल्ने अनुमति पाउने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्य स्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधान रहेको जानकारीदिनुभएको हो ।

तर आयोगले दृष्टिविहीन वा शारीरिक अशक्त मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिंदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी मात्र अनुमति दिन समेत निर्देशन जारी भएको जानकारी दिनुभएकोछ ।

साथै आयोगले दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको आयोगले स्मरण गराउँदै आयोगले मतदाताको माग उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको जनाएको छ ।