बिहिबार, चैत्र १५, २०८०

मुस्लिम समूदायले आज आफ्नो महत्वपूर्ण पर्व इद उल फित्र मनाउँदै

काठमाडौं बेशाख २०,
मुस्लिम समूदायले आज आफ्नो महत्वपूर्ण पर्व इद उल फित्र मनाउँदैछ । यो पर्व एकमहिने रोजा ब्रत पूरा भएको खुसियालीमा मनाउँने गरिन्छ । आजको दिन एक आपसमा खुसियाली साट्दै आर्थिक क्षमता भएका मुसलमानले आफ्नो कमाइको साढे दुई प्रतिशत रकम गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्ने व्यवस्था रहिआएको छ । सरकारले इद उल् फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले जारी गर्नु भएको शुभकामना सन्देशमा धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुको अलावा प्रस्तुत पर्वले आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु-याएको उल्लेख गर्नु भएको छ ।

त्यस्तै उप–राष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इदुल फित्र)को शुभ अवसरमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति सु–स्वास्थ्य समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यस पर्वको माध्यमबाट मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने कुरामा विश्वास व्यक्त गर्नुभएको छ ।