शुक्रबार, चैत्र १६, २०८०

कांग्रेसका केन्द्रीय नेताहरूले देशभरि चुनावी सभाहरूमा सम्बोधन गर्ने

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन

काठमाडौ बैशाख २०,
नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न क्षेत्रमा खुला सभा आयोजना गर्ने भएको छ। कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार सम्बन्धित जिल्ला कार्यसमितिको संयोजनमा आयोजना गरिएका सभाहरूमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा वैशाख २१ गते मोरङ मा हुने सभामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने वैशाख २२ गते चितवनको भरतपुरमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायत वक्ताले सम्बोधन गर्ने भएको छ।

त्यस्तै वैशाख २३ गते काठमाडौँमा हुने सभामा सभापति देउवा, नेता पौडेललगायत वक्ताहरू, वैशाख २४ गते रुपन्देही (बुटवल)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगन थापा, वैशाख २४ गते तनहुँ (दमौली)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा प्रकाशशरण महतलगायत अन्य वक्ताहरू रहनुहुनेछ ।

 

त्यस्तै वैशाख २४ गते धनुषा (जनकपुर)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, वैशाख २५ गते कास्की (पोखरा)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, वैशाख २५ गते दाङ (तुलसीपुर) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायतका वक्ताले सम्बोधन गर्ने भएको छ ।

यसैवीचनेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गर्नुभएको छ ।पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा गठित सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै विज्ञप्तिमा सचिवालयले समिति र उपसमितिहरूले गरेका निर्णयको कार्यान्वयन, पार्टीका विभिन्न साङ्गठनिक संरचनाहरूले निर्वाचनमा पार्टीको विजय अभियानलाई सफल बनाउन गरिरहेका कामको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक कार्य गर्ने उल्लेख  गरिएको छ ।