काठमाडौं चैत १८,
प्रत्येक वर्ष जस्तै चैत्र कृष्ण औंशीका अवसरमा आज राजधानीमा घोडेजात्रा पर्व मनाइँदैछ । प्राचीन कालमा काठमाडौँको टुँडिखेलको रुखमा बास गर्ने नरभक्षी गुरुमापा नामका राक्षसको प्रेतात्मा जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउनकै लागि घोडेजात्रा मनाइने गरिएको हो ।
घोडेजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । जात्राकै अवसरमा नेपाली सेनाले काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष घोडेत्राको विशेष कार्यक्रम आयोजना गर्दै आएकाछन । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरुको सहभागिता रहने सो कार्यक्रममा घोडेजात्राका विभिन्न दृश्यहरु देखाइन्छ ।
त्यस्तै जात्राको अवसरमा काठमाडौँका नेवार समुदायले घरघरमा आफन्तजन बोलाएर उत्सव मनाउने परम्परा समेत रही आएको छ । चैत्र कृष्ण औँशीका दिनमा टुँडिखेलका साथै पाटन बालकुमारीमा पनि एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको संस्कृतिविद् हरिराम जोशीले बताउनु भयो । उहाँका अनुसार नेपालमा कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि टुँडिखेलमा मनाइने घोडेजात्राको क्रम १५औं वा १६औ शताव्दीदेखि मनाउन थालिएको जनविस्वास रहेको छ ।