बिहिबार, बैशाख ६, २०८१

समाचार सामग्री सम्प्रेषणमा सजग हुन सञ्चार माध्यम र पत्रकारलाई काउन्सिलको आग्रह

काठमाडौं बैशाख १६,
प्रेस काउन्सिल नेपालले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरु बढिरहेको जनाउँदै यस्ता किसिमका समाग्राी सम्प्रेषण नर्गन सम्बद्ध सबैमा अपिल गरेको छ।

पछिल्लो समयमा काउन्सिलले स्वअनुगमनको क्रममा दुष्प्रचारयुक्त सामग्री तथा द्वेषपूर्ण अभिव्यक्तिसंगै राजनीतिक दलका नेताहरुले अर्को राजनीतिक दल तथा दलका नेताहरुविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्य सहितको टिकाटिप्पणीलाइ प्राथमिकता दिइ सञ्चार माध्यमहरुबाट सम्प्रेषण हुने गरेको देखिएको भन्दै त्यस्ता समाग्रीको प्रकाशन प्रशारण नगर्न र नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा आज एक अपिल जारी गर्दै यस्तो आग्रह गरेको   हो ।

त्यस्तै पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा काउन्सिलले विशेष अनुगमन गरिरहेको जनाउँदै जारी अपिलमार्फत काउन्सिलले यसवीचमा त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चार माध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरि कारबाही गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जारी गर्नुभएको अपिलमा उल्लेख गरिएको छ।

साथै अपिलमा निर्वाचनको बेलामा गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सञ्चार माध्यमलाई प्राप्त हुन सक्दछन् । गलत, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्ने र द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिने, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चार माध्यम सदैव सजग हुनुपर्नेमा विशेष जोड दिदै पत्रकार आचारसंहिता विपरितका कुनै पनि क्रियाकलाप नगर्न नगराउँन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा काउन्सिलले आग्रह् गरेको छ ।