मङ्लबार, बैशाख ४, २०८१

हुण्डी कारोबारमा संलग्न खड्गी र अग्रवाल डेढ करोड रकम सहित पक्राउ

काठमाडौं फागुन २३,

काठमाडौं महानगरपालिका वडा न १३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- १९ ककेश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका-३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका- १३ ताहचल बस्ने भारत प्रान्त पश्चिम बङ्गाल दार्जलिङ सिलिगुरी ठेगाना भएका ३२ वर्षीय अमित कुमार अग्रवाल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका- १३ ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गर(गहनाको होलसेल कारोबार गरी बस्ने अमित कुमार अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले अमित कुमार अग्रवाल बस्ने घरको गेट अगाडि बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा उनले कालीमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रूपैयाँ ल्याई अमित कुमारको कोठामा पुर्‍याइ दिएको बताएपछि अमित कुमारको डेरा तलासी गर्दा नेपाली नगद १ करोड ५० लाख फेला परेको जनाएको छ।

त्यस्तै उनीहरूबाट विभिन्न चेक, भौचर प्याड, कारोबार सम्बन्धी विभिन्न कागजातहरू, २ थान ल्यापटप र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको जनाउदैथप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइएको जनाएको छ ।