बुधबार, बैशाख १२, २०८१

प्राचीन स्मारक ऐन २०१३ को व्यवस्थाप्रति महानगर पूर्ण प्रतिवद्ध :महानगर प्रमुख शाक्य

काठमाडौँ चैत ४ ,
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सम्पदा संरक्षण र प्रवर्धनका काम गर्दा प्राचीन स्मारक ऐन २०१३ को कानुनी व्यवस्थालाई पूर्णत आत्मासात गरेको यसप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ ।

महानगर प्रमुख र सञ्चारकर्मीवीच आज भएको अन्तरसंवादको क्रममा प्रमुख शाक्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय मूर्त एवं अमूर्त कला, संस्कृति, सम्पदा, भाषा, लिपि, संगीतको संरक्षण एवं सम्वद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रत्यायोजित भएअनुरुप महानगरका क्षेत्रगत काममध्ये मूर्त अमूर्त सम्पदा जोगाउन, सम्बर्धन तथा प्रवर्धन गर्न लिएका नीति र बनाइएका योजना र योजना कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा संस्थागत निर्णयमा गर्दा पदाधिकारीविच छलफल र परामर्श पछिमात्र प्रस्तावित योजना कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।

त्यस्तै यसवीचमा सांस्कृतिक सहर, काठमाडौं महानगर” को नारालाई सार्थक बनाउन ‘हामीले भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइ स्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण गरिसकेको जानकारीदिदै उहाँले कला, भाषा, साहित्य, संस्कृति र सम्पदाहरुको संरक्षण, सम्वर्धन, निर्माण एवं पुनः निर्माणको कामलाई प्राथमिकतामा राखेर ‘महानगरले सम्पदा क्षेत्रमा वार्षिक १ अर्व भन्दा बढी रकम विनियोजन गर्ने गरेको बताउनुभयो ।

त्यस्तै उहाँले महानगरले महानगरभित्र मात्र नभई उपत्यकाका भित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका विभिन्न नगरका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आइरहेको जानकारीदिदै लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका कार्यसम्पादन हुँदै गरेको बताउनुभयो ।

साथै उहाँले ‘रानी पोखरी पुननिर्माणको काम हामी निर्वाचित भएर आउनु अघि नै सुरु भएको हो । हामीले पदवहाली गर्दा काम भइरहेको थियो । त्यो विषयलाई लिएर हाम्रो आलोचना भयो । हामीले क्रमागत रुपमा चलेका योजनालाई निरन्तरता मात्र दिएको भन्दै जसले हाम्रो आलोचना गरे, उनीहरुले कहिल्यै पनि वास्तविकताका विषय जान्ने सोच नवनाएको जिकिर गर्नुभयो ।