काठमाडौं चैत १५,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आज जारी गरेको विज्ञप्तिमा २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायक पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्तङ्कमा हेरफेर गरेर सूची फेरबदल गरेको आरोपमा तत्कालीन प्रमुख कोइरालासहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको उल्लेख गरिएको छ।
त्यस्तै विज्ञप्तिमा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्राडा टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेले अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले परीक्षाको परिणाममा फेरबदल गरेको पुष्टि हुन आएको र सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको देखिँदा निजहरुउपर तीन महिनादेखि एक बर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई आज आरोपपत्र दायर गरिएको उल्लेख गरिएको छ।