शुक्रबार, चैत्र १६, २०८०

सत्तासाझेदार पाँच दलीय गठबन्धनको बैठक: जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय

सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने

काठमाडौ माघ १५, 
सत्तासाझेदार गठबन्धनको शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमतिसंगै आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचनको विषयमा बढ्दो दवावका कारण आज दुई चरणमा बसेको सत्तासाझेदार पाँच दलीय गठबन्धनको बैठकले जेठभित्रै चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

बैठक पछि सञ्चारकर्मीहरुसंग करा गर्दै सरकारका प्रवक्तासमेत रहेका ​सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । ​प्रवक्त कार्कीको भनाइ अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । यसअघि गठबन्धनका केही दल र नेताहरु स्थानीय निर्वाचन ६ महिना पछाडि सारेर पहिले संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिदै आएका थिए ।