बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय सभाको १९ रिक्त सदस्य पदका लागि आज  मतदान हुँदै

काठमाडौं माघ १२ ,

आज राष्ट्रिय सभाको १९ रिक्त सदस्य पदका लागि बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८ , नेकपा एसका ४ , माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान अनुरुप निर्वाचन हुन लागेको हो ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

आयोगका अनुसार प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधी भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ भने गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

प्रस्तुत निर्वाचनमा नेपाली कांग्रेस, एमाले , माओवादी केन्द्र , नेकपा एस ,राजमो लोसपा नेमकिपा ,जसपा र राप्रपाका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा रहेका छन ।