बिहिबार, चैत्र १५, २०८०

महानगरबासीका विकासका अपेक्षालाइ सम्बोधन गर्न बजेट कार्यक्रम संशोधन : प्रमुख शाक्य

काठमाडौ पुस ३०,
काठमाडौँ महानगरको नगर सभाको १० औँ अधिवेशनले ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन गरेको छ । काठमाडौं महानगरपालिकाको सञ्चित कोषबाट कार्यान्वयन हुने १६ अर्ब ८ करोड ७० लाख १२ हजार रुपैयाँ र बाह्य कोष (नेपाल सरकार, प्रदेश सरकार र आयोजनाहरु) बाट कार्यान्वयन हुने २ अर्व ८७ करोड ७ लाख रुपैयाँ गरी १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बजेटको कुल सीमालाई यथावत राखेर विनियोजित बजेटमध्ये नपुग हुने शिर्षक तथा कार्यक्रममा ४२ करोड ८४ लाख ७९ हजार बजेट थप गरिएको हो । सोही बराबरको रकम खर्च हुन नसकी बचत हुने शिर्षकवाट घटाएर मिलान गरिएको छ ।

बैठकलाइ सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले खर्च हुन नसक्ने योजनालाई खर्च गरेर नतिजा दिन सकिने योजनामा परिणत गरिएको बताउँदै महानगरबासीका विकासका अपेक्षालाइ सम्बोधन गर्नुको अलावा वडा समितिबाट माग भएका योजनाको कार्यान्वयनका लागि यसअघि विनियोजित गरिएका शिर्षक अनुरुप कार्यान्वयन गर्ने भनिएको कार्यक्रम कार्यान्वयनमा आउन नसकेपछि शीर्षक परिवर्तन गरिएको बताउनुभयो ।

त्यस्तेै यहि मेलोमेसोमा जेष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमको लागि विनियोजित ५० लाख रुपैयाँमा १ करोड ५० लाख रुपैयाँ थप गर्नुको अलावा  फोहरमैला प्रभावित क्षेत्रका स्थानीयवासीहरुसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यस अघि छुट भएको शिक्षक दरवन्दी अनुदानसहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको जानकारी दिनुको साथै मनोहरा जग्गा एकीकरण आयोजनाका लागि ६ करोड ऋण स्वीकृत गरिएको बताउनुभयो । त्यस्तै कोविड महामारीका कारण पूर्वाधार निर्माणमा पूर्ण क्षमतामा काम गर्न पाइएन । तर जीवन रक्षा (मानवीय सहायता) का क्षेत्रमा धेरै काम भएको बताउनु भयो ।

सभाले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुृटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको छ । महानगरको आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि समेत बढाएको छ । बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल लगायतले वोल्नुभएको थियो ।