शुक्रबार, बैशाख १४, २०८१

पत्रकार एलबी मृत्यु प्रकरणः काउन्सिलद्वारा टिभी टुडेमा अनुगमन

काठमाडौं माघ ९,

टिभी टुडे एचडीमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधनका विषयमा अनुगमनका क्रममा प्रेस काउन्सिल नेपालले आइतबार टिभी टुडे एचडीको कार्यालयमा अनुगमन गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्वय ठाकुरप्रसाद बेलबासे र दीपक पाण्डे, निमित्त मुख्य अधिकृत दीपक खनाल, अधिकृत गीता पराजुली र अनुगमनकर्ता विपुल पाण्डेसहितको टोलीले टिभी टुडेको पेप्सीकोलास्थित कार्यालयमा पुगी तबल, सुविधाका विषयमा अनुगमन गरेको हो ।

काउन्सिलले यसअघि विश्वकर्मा उपचाररत रहेको निजामती कर्मचारी  अस्पतालमा  पुगी मृत्युको विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो । काउन्सिलले सिभिल अस्पतालमा सहज उपचार नपाएर पत्रकार विश्वकर्माको निधन भएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनपर्नु राज्यकै लज्जाको विषय हो’ काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घटनाका विषयमा प्रेस काउन्सिल नेपालअन्तर्गतको श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको बैठक आइतबार नै बसेको थियो । उपसमितिका संयोजक ठाकुरप्रसाद बेलबासेको अध्यक्षतामा बसेको बैठकले श्रमजीवी पत्रकारले आर्थिक अभावमा मृत्युवरण गर्नपर्नु निन्दनीय विषय भएको औँल्याउँदै सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । काउन्सिलले श्रमजीवी पत्रकारलाई उपचारको विशेष व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

पत्रकार विश्वकर्माको यही माघ ०६ गते विहान ३ः०० बजे निधन भएको थियो । उपचारको क्रममा थोरै रकम अपुग भएका कारण सिभिल अस्पतालमा भर्ना नलिइएकोले ललितपुरस्थित पाटन अस्पतालमा पुर्‍याएपछि विकको निधन भएको समाचार प्रकाशनरप्रसारण भइरहेका   छन् ।

        यसैवीच पत्रकार विश्वकर्माको निधनको सन्दभमा पत्रकार महासंघले अध्ययन तथा छनविन गरिरहेको छ ।