बिहिबार, चैत्र १५, २०८०

नारायणहिटी रेस्टुरेन्ट प्रकरणको छानबिन गर्न लुइँटेलको संयोजकत्वमा समिति गठन

काठमाडौं पुस २२,
नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्ट प्रकरणको छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन ।

त्यस्तै समितिलाइ दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा ३ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । यसअघि मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइएको थियो ।