काठमाडौं माघ १४,
गृह मन्त्रालयले विहिवार एक विज्ञप्ति जारी गर्दै प्राङ्क भिडियो नबनाउन तथा व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियोग्राफी बनाएर सामाजिक सञ्जालमा अपलोड नगर्न र गरे कारवाही हुने चेतावनी सहित जारी गरेको निर्देशन प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गरेर गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएकाले ध्यानाकर्षण भएको बताएका जनाउदै जारी विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ’, भनिएको छ। त्यस्तै यो वा त्यो नाममा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ गरिएको छ।
स्मरण रहोस, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा सार्वजनिक स्थलमा प्राङ्कको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराइएको छ भने त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।