बिहिबार, बैशाख १३, २०८१

कोभिड कहरका कारण शहीद सप्ताह औपचारिकतामा सिमित

शहीद धर्मभक्त माथेमाको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धासुमन अपर्ण

काठमाडौं माघ १३ ,

आज शहीद सप्ताह अन्र्तगत राजधानीको सिफलस्थित शहीद धर्मभक्त माथेमाको शालिकमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य सहितका पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धासुमन अपर्ण गरिएकोछ ।

बढ्दो कोभिड प्रभावका कारण यस वर्षको शहीद सप्ताह कार्यक्रम औपचारिकरूपमा मात्र सिमित भएको जनाउ सहित महानगर प्रमुख शाक्यले कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि यस वर्ष विगतका वर्षमा झैँ शहीद दिवस मनाउन नपाएको बताउनुभएकोछ ।

यसअघि शहीद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । महानगरले प्रजातन्त्रप्राप्तिका लागि ज्यानदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा निर्माण गरिसकेको छ ।

त्यस्तै १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा सीमित पदाधिकारी उपस्थित भएर शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाउने कार्यक्रम रहेको जानकारी दिदै शहीद सप्ताह मूल समारोह समितिका संयोजक समेत रहेका महानगर प्रमसख शाक्यले  महामारीको प्रभावले गर्दा यस वर्ष शहीद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने कामपाले जनाएको छ ।

विगतका वर्षमा माघ १६ गते शहीद दिवसको दिन बिहान ९ बजे रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी कार्यक्रमको आयोजना सहित लैनचौरको शहीद स्मारकमा पुगेर ज्ञातअज्ञात शहीदको सम्झनामा गर्ने गरिएकोमा यसवर्ष प्रभातफेरी कार्यक्रम गरिने छैन । लैनचौरको शहीद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम मात्र गरिनेछ जहाँ प्रधानमन्त्रीसहित केही उच्चपदस्थ अधिकारी मात्र उपस्थित रहने कार्यक्रम रहेको प्रमुख शाक्यले जानकारी दिनुभयो ।

शहीद धर्मभक्त माथेमालाई तत्कालीन शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनाको रूखमा झुण्ड्याएर मारिएको थियो ।