बिहिबार, चैत्र १५, २०८०

संसद्मा जारी गतिरोधको अन्त्य गर्दै बैठक सञ्चालन गर्न दिन सर्वदलीय बैठकको आह्वान

एमसीसी लगायतका विषयमा छलफल गर्न  एकीकृत समाजवादीका नेता झलनाथ खनाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  सहितको कार्यदल गठन

काठमाडौं पुस ४,
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बसेको सर्वदलीय बैठकले संसद् जारी गतिरोधको अन्त्य गर्दै संसद बैठक नियमित गर्न दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकसके लगत्तै बैठकले गरेको निर्णयको जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार   मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जन निर्वाचित संसदको अवरुद्धता लोकतान्त्रिक मर्यादा विपरित भएको निष्कर्षको पहिचान गरेको बताउनुभयो । यद्यपि उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन । तथापी बैठकले यो वा त्यो नाममा सिङ्गो संसद्लाई बन्धक बनाउँदै जाने हो भने लोकतन्त्र र संसदीय अभ्यासमा समेत प्रश्न उठ्ने बताउदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विषयमा संवाद गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।

त्यस्तै उहाँले एमसीसी सम्झौताका विषयमा भने बैठकम सहभागी दलका प्रतिनिधीबाट प्रकट फरक फरक किसिमका अभिव्यक्तिका कारण प्रस्तुत विषयमा थप छलफलको आवश्यकता भएको ठहर सहित सर्वदलीय बैठक अघि बसेको ५ दलिय सत्तासाझेदार दलको बैठकले एमसीसी लगायतका विषयमा छलफल गर्न  एकीकृत समाजवादीका नेता झलनाथ खनाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  सहितको कार्यदल गठन गरेर कार्यदलले दिएको सुझाव अनुरुप अघि बढ्ने तयारी भएको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की ,कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एस  पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, अर्का नेता वेदुराम भुषाल, ज. स. पा. का अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, ने.म. कि.पा.का प्रेम सुवाललगायतको सहभागिता रहेको थियो ।