बिहिबार, बैशाख १३, २०८१

मप बैठक : विश्व बैंकसंग एक कराेड ८० लाख अमेरिकी डलर ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय

-राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा दामोदर रेग्मीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन
-सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द
-नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत
-डा प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११औँ तहमा नियुक्त गर्ने निर्णय
-नेपाली सेनाका विभिन्न समूहका रथी, सहायक रथी र महासेनानीहरुको सरुवा गर्ने निर्णय
-सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र सीमा बलको १८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान
काठमाडौं पुस २,
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ रोकथम तथा नियन्त्रणका लागि विश्व बैंकले प्रदान गर्ने ऋण सहायता प्राप्त गर्नका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको बताउनुभएको छ ।

त्यस्तै बैठकले नेपाल न्याय सेवा कानुन समुहको राजपत्रांकित प्रथम श्रेणीमा विनोदकुमार भट्टराईलाई र नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा रामप्यारी सुनुवारलाई नियुक्ति गर्ने निर्णयसंगै राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा दामोदर रेग्मीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरेको जानकारी दिनभएको छ ।
साथै सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको जानकारी संगै नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै उहाँले पत्रकार सम्मेलन मार्फत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लाथि पाँच जना अधिकृतहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने, भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा लिज उपलब्ध गराउन स्वीकृति दिने, नेपाली सेना सैनिक प्राविधिक सेवाका सहायक रथी गेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप गर्ने, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको पहिलो संशोधन गठन आदेश २०७८ स्वीकृत गर्ने, नेपाली सेनाका सहायक रथी डा.अरुणकुमार न्यौपाने र चार सैनिक अधिकृतको बढुवा गर्ने र नेपाली सेनाका विभिन्न समूहका रथी, सहायक रथी र महासेनानीहरुको सरुवा गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

साथै सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र सीमा बलको १८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णयसंगै लोकसेवा आयोगबाट सिफारिश भई आएका डा प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११औँ तहमा नियुक्त गर्ने निर्णय गरेको छ ।