शुक्रबार, चैत्र १६, २०८०

प्रम देउवा र आयोग पदाधिकारीवीचको परामर्श बैठकमा बैशाख १४ मा स्थानीय चुनाब गराउन प्रस्ताव

काठमाडौं पुस ९,
स्थानीय तहको निर्वाचनका विषयमा परामर्श गर्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवावीच आज विशेष भेटवार्ता भएको छ। आज अपरान्ह भएको भेटवाताको क्रममा स्थानीय तहका पदाधिकारीको कार्यकाल आगामी जेठ ५ मा सकिदै गर्दाकोअवस्थालाइ दृष्टिगत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले आसन्न स्थानीय तहको निर्वाचनका लागि सरकार समक्ष दुई वटा मितिको प्रस्तावसंगै स्थानीय तहको निर्वाचनमा विद्युतीय ‘भोटिङ मेशिन’ प्रयोग गर्न सकिने  अवस्थाका सम्बन्धमा समेत छलफल गरेको हो ।

आयोगले ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने अवस्था बनेमा १४ वैशाखमा र त्यो अवस्था नभएर दुई चरणमा निर्वाचन गर्नु परेमा बैशाख १४ र २२ गर्न सकिने गरि सरकारसँग निर्वाचनको मिति प्रस्ताव गरेको हो। स्मरण रहोस, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको निर्वाचन गराउन आयोगले सिफारिस गर्ने र नेपाल सरकारबाट मिति तोक्ने व्यवस्था अनुरुपआयोगले निर्वाचनको मिति प्रस्ताव गरेपछि सरकारले थप निर्णय लिने व्यवस्था रहिआएको छ।

त्यस्तै आयोगको प्रस्ताव पछि छलफलको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार निर्वाचन गर्नका लागि तयार रहेको जनाउ सहित सबै राजनीतिक दलहरूसँग छलफल सरकारले थप निर्णय लिने जवाफ दिनुभएको छ ।

प्रम देउवा र आयोग पदाधिकारीवीचको उक्त निर्वाचन मिति केन्द्रीत परामर्श बैठकमा   गृह मन्त्री बालकृष्ण खाँड, सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, मुख्यसचिव, गृह सचिव, अर्थ सचिवको उपस्थिति रहेको थियो भने आयोगको तर्फबाट प्रमुख आयुक्त थपलियासँगै, आयुक्तहरु इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा। जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराको सहभागिता रहेको थियो ।