बिहिबार, बैशाख ६, २०८१

साल्ट ट्रेडिङ्गले  शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने

[फाइल फोटो ]

 ५४ औं वार्षिक साधारणसभा : आ.व. २०७६।०७७ मा कुल मुनाफा १ अर्व ७ करोड आर्जन गर्न सफल

काठमाडौं कात्तिक १६,
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा सहित आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५४ औं वार्षिक प्रतिवेदनका साथै २०७७ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

त्यस्तै सञ्चालक समितिका अध्यक्ष लक्ष्मिदास मानन्धरको सभापतित्वमा सम्पन्न साधारण सभाले व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पूंजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वापत रु.९६,०१,२३०  र रु.३,८४,०४,९२०। बराबरको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।

साथै कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै रु.९ अर्व ७४ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७६।०७७ मा कुल मुनाफा १ अर्व ७ करोड आर्जन गर्न सफल भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै गरि कर्पोरेशनको ५४ औ. साधारणसभाल व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्धता अभिव्यक्त गरिएको छ।

स्मरण रहोस देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु-याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढ्नुको अलावा लकडाउनमा समेत अत्यावश्यक वस्तुको सहज आपुर्तिका लागिे आम उपभोक्ताको घरदैलो सेवा संगै दशैं, तिहार, छठ जस्तो चाडपर्वमा सुुपथ मूल्यका पसल संचालन गरी सेवा प्रदान गर्दै आइरहेको छ ।