शुक्रबार, बैशाख १४, २०८१

महानगरबासीले आवश्यक ठानेका सबै क्षेत्रमा महानगरको लगानी र सहभागिता : प्रमुख शाक्य

काठमाडौँ कार्तिक २८
काठमाडौँ महानगरको वडा ७ मा आज मैजुबहाल पार्कको शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गर्नुभएको हो । ५३ लाख ६२ हजार ३ सय रुपैयाँ लागत अनुमानमा सडक किनारामा रहेको करीव २ रोपनी क्षेत्रफलमा पार्क निर्माणका लागि शारदादृेवी कन्स्ट्रक्सनले ३३ लाख ६५ हजार १९२ रुपैयाँमा निर्माण पक्षलाई निर्माण सम्पन्न गरिसक्ने कार्यादेश दिइएको छ । 

शिलान्यास अवसरमा बोल्दै प्रमुख शाक्यले, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, आर्थिक, सामाजिक तथा पर्यटन विकास, सम्पदाको पुननिर्माणलगायत महानगरबासीले आवश्यकता महसुस गरेका सबै क्षेत्रमा काठमाडौँ महानगरले लगानी गरेको बताउनुभयो । ‘स्थानीयले मागेका र विवाद नभएका सबै योजनामा हामीले बजेट उपलब्ध गराएका छौँ । निर्माण पछि सञ्चालन व्यवस्थापनको जिम्मा पनि स्थानीयलाई नै हस्तान्तरण गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘कमलपोखरी पुननिर्माण भइसकेको छ । शंखपार्कको सौन्दर्य बढाएका छौँ । यस्तै धेरै पार्कहरु बनेका छन् । तपाईँहरु पनि ती पार्कमा गएर घुम्नोस् । यसले छिमेकी वडामा भएका कामका बारेमा थाहा हुन्छ । यस्तै त्यसको व्यवस्थापन हेरेर आफ्नो ठाउँको विकासमा काम गर्न सकिन्छ ।’

त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष शुद्धकुमार डंगोलसहित जनप्रतिनिधि र स्थानीयबासी सहभागीता रहेको थियो ।