बिहिबार, बैशाख १३, २०८१

मन्त्रालयको अपरिपक्क निर्णयसंगै सिर्जित उपकुलपति प्रकरण: उच्च अदालतले दियो यस्तो आदेश

काठमाडौं कात्तिक २९,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकूलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतको नियुक्तिको विषयलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०७८।७।२३ गते प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई दैनिक कामकाजमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।

पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश दिदै जारी आदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७८र७र२३ मा भएको निर्णय उपर अर्को अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नू नगराउनू यथास्थिति राखी कार्य सुचारु गर्न दिनु भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिक आदेश जारी गरिएको उल्लेख रहेको छ।

स्मरण रहोस,  स्वास्थ्य मन्त्री विरोध खतिवडाले कूलपति तथा प्रधानमन्त्रीले गर्ने कार्य ऐन, विधि र प्रक्रिया विपरित व्यक्तिगत सनकको भरमा प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउँदै प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा तत्कालिन स्वास्थ्य तथा जनसख्या मन्त्री भानु भक्त ढकालले मिति २०७६ पुष १० गते नियुक्त गरेका डा निरेश थापालाई अधिकारसहित कामकाज गर्ने गरी उपकुलपतिको जिम्मेवारी दिएसंगै चौतर्फी विरोध शुरु भएको थियो ।

विरोधको क्रममा २०७८ कार्तिक २४ गते सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले सामुहिक हस्ताक्षर गरेर विज्ञप्ति निकाल्दै उक्त निर्णय फिर्ता नलिए कडा संघर्षका कार्यक्रम सहित अगाडी वढ्ने चेतावनी समेत दिदै जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइ मार्फत प्रधानमन्त्री एवं कर्णाली स्वस्थ्य विज्ञानका कुलपति शेरबहादुर देउवा लाई प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा शिक्षकहरुले ध्यानाकषर्ण पत्र पठाएका थिए ।

साथमा